(१) डाँक बढाबढी वा घटाघटी गराउँदा अनुसूची–३ बमोजिमको फाराम खडा गरी डाँक बोल्नेहरु मध्ये पहिला र दोस्रा हुनेसँग ऐन बमोजिम लाग्ने डिपोजिट बढाबढी वा घटाघटी गराउने अड्डाले लिनु पर्दछ ।
(२) कुनै ठेक्काको चलन पुर्जी नलिएसम्म वा पट्टा नउठाएसम्म सो ठेक्का कबूल गर्ने डिपोजिट दिनेवाला मध्ये नेपाल सरकारले सो ठेक्का क्रमानुसार दिन ठहराएका डिपोजिटवालाहरु सम्मको डिपोजिट फिर्ता नगरी स्थगित राखिनेछ । तर चलन पुर्जी लिई वा पट्टा उठाइ सकेपछि निजहरुले सो ठेक्का बापत राखेको डिपोजिट ऐन बमोजिम निजलाई फिर्ता गरिनेछ । नेपाल सरकारले चाहेमा पहिला हुनेवालाको बाहेक अरुहरुको डिपोजिट तत्कालै पनि फिर्ता गरी दिन सक्नेछ ।
(३) चलन पुर्जी लिने वा पट्टा उठाउनेवालाले सो रकम बापत ऐनको दफा ६ बमोजिम आफूले राखेको डिपोजिटको रुपैयाँ चलन पुर्जी लिन वा पट्टा उठाउन बुझाउनु पर्ने पहिला किस्तामा मिलाउन पाउने छ ।